४० बुँदे माग राख्दै राप्रपाले सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए
९ फागुन, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले ४० बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
राप्रपा मकवानपुरका कार्यबहाक अध्यक्ष सागर थापा नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । देशद्रोही सरकार मुर्दाबाद, राजसंस्था जिन्दाबाद भन्दै राप्रपा मकवानपुरका नेताहरुले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए । २०७२ सालमा जारी भएको संविधानबाट धर्म, संस्कृति र आर्थिक रुपान्तरण सम्भव नभएको राप्रपाको ठहर छ । देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्र्तराष्ट्रिय अस्मिता नराम्रोसंग क्षयीकृत भएको राप्रपाले ज्ञापनपत्रमा उल्लेख गरेको छ । त्यसैगरी राप्रपाले देशको प्रमुख निकायहरु भ्रष्ट, असक्षम र दुषित राजनीतिको शिकार भएको समेत उल्लेख गरेको छ ।

मागमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र रहेका छन् । साथै धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव छन् ।

राप्रपाले केन्द्रीय निर्देशन अनुसार बुधबार ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाएको हो । राप्रपाको टोली पार्टी कार्यालयबाट कान्तिराजपथ, बुद्ध चोक हुँदै प्रशासन कार्यालय पुगेको हो ।














