५७ हजार पाँच सय क्याप्सुल ट्रामाडोल बरामद
११ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ठूलो मात्रामा लागूऔषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको छ ।
बिहीबार बिहान करिब ९ः३० बजेको समायमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बाराबाट हेटौंडातर्फ आइरहेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीबाट ५७ हजार पाँच सय क्याप्सुल ट्रामाडोल बरामद गरेको हो ।
गाडीको अगाडिको इञ्जिन भागमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त परिमाणमा लागूऔषध फेला परेका मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उक्त लागू औषध हेटौंडाकै लागि ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख खड्काले बताउनुभयो । पक्राउ पर्नेमा गाडीका चालक बारा पचरौता नगरपालिका–७ बेनौली निवासी २५ वर्षीय तिर्थलाल पासवान र सह–चालक २३ वर्षका सुनिल पटेल रहेका छन् ।
पक्राउ परेका दुबैलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बरामद ट्रामाडोल क्याप्सुलको बजार मूल्य ४ लाख १४ हजार रुपैयाँ बराबर रहेको छ ।














