५ किलो ९ सय ४० ग्राम अफिम सहित एकजना पक्राउ

संवाददाता
७ बैशाख २०८२, आईतवार १८:२१

७ वैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ५ किलो ९ सय ४० ग्राम लागूऔषध अफिम सहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नेवारपानीमा चितवनबाट हेटौडातर्फ आइरहेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लागूऔषध अफिम सहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवन, राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् । तामाङको साथबाट तीन वटा पोका बनाएर ल्याइएको अवस्थामा प्रहरीले उक्त परिमाणको अफिम बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । यस्तै, बिलबिजक नभएको ठूलो परिमाणको लत्ताकपडा सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौडा–४ कर्राचोकस्थित पूर्व–पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा बा.प्र.०३–००१ ज १०५७ नम्बरको इभी गाडी चेकजाँच गर्दा बिलबिजक नभएको करिब तीन लाख रुपैयाँ बराबरको लत्ताकपडा फेला पारेको हो । यसैगरि, पथलैयाबाट हेटौडातर्फ आइरहेको ना ६३ प ४८७ नम्बरको मोटरसाइकलबाट ३ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । प्रहरीले लागूऔषध सहित हेटौडा उपमहानगरपालिका–४ हुप्राचौर निवासी १९ वर्षका विशाल सार्कीलाई नियन्त्रणमा लिएको छ ।
  ९ महिनाको अवधिमा ६ सय २९ जना पक्राउ
मकवानपुर प्रहरीले चालु आर्थिक वर्ष ९ महिनाको अवधिमा लागूऔषध कारोबार, सुनचाँदी तस्करी, अवैध सामान ओसारपसार गतिविधिमा संलग्न ६ सय २९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पक्राउ पर्नेहरूमध्ये ५ सय ८१ जना पुरुष र ४८ जना महिला रहेका छन् । यी मध्ये ३१ जना विदेशी नागरिक रहेका छन् । चालू आर्थिक वर्षको चैत्र मसान्त सम्ममा लागुऔषध कारोबारमा मात्रै १ सय २६ वटा मुद्दा दर्ता भई १ सय ९३ जना पक्राउ परेका छन् । प्रहरीले यो अवधिमा ४ हजार ८७ किलो गाँजा बरामद गरेको छ । अफिम १४ किलोग्राम, खैरो हिरोइन ४ सय १८ ग्राम, चरेश ५१ किलो, ट्याब्लेट नाइट्रोभेट ट्याबलेट २ हजार ९ सय ८ एम्पुल, डाइजेपाम १ हजार ६ सय ६५ एम्पुल बरामद भएको छ ।
त्यस्तै लागूऔषध ओसारपसारमा प्रयोग भएको ४१ सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रहरीले ३ सय २० जना प्रहरी परिचालन गरि १ सय २० बिगाह गाजा र ३९ बिगाह अफिम फडानी गरेको विवरणमा जनाइएको छ ।
यस अवधिमा प्रहीले १२ करोड १७ लाख मूल्य बराबरको अवैध भन्सार छलीको ८ किलो ७ सय ७८ ग्राम सुन र तीन लाख ६६ हजार मूल्य बराबरको अवैध चाँदी बरमदमा लिइएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो । यस आर्थिक वर्षको साउनदेखि चैत्र सम्ममा मात्रै प्रहरीले २ करोड ५२ लाखको अवैध भन्सार छलीका कपडा खाद्यान्न लगायतका सामग्री बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*