५ वर्षअघि खनिएको बोरिङको कारण गाडी फसेको भुगर्भविद्को प्रारम्भिक निष्कर्ष

संवाददाता
३० बैशाख २०८२, मंगलवार १९:१५

३० वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँमा जमिन भासिएर गाडी हराएको विषयमा खानी तथा भूगर्भ विभागको टोलीद्वारा गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन आएको छ ।
प्रतिवेदन अनुसार, जमिन भासिनुको प्रमुख कारण सिल्ट मिश्रित पानीको निरन्तर निष्कासन देखिएको छ । घटनास्थलमा पाँच वर्षअघि खनिएको बोरिङबाट धमिलो पानी लामो समयसम्म निस्किरहँदा जमिनभित्र स–साना भ्वाङहरू बनेका थिए। भूगर्भविद्हरूका अनुसार, जमिनको माथिल्लो सतहमा निरन्तर भार परिरहँदा त्यो भाग भासिँएर ठूलो खाडलमा परिणत भएको हो ।
खाडल बनेको क्षेत्रको पूर्वी भागमा गरिएको अध्ययनमा ४ गुणा २ मिटर क्षेत्रफलमा देखिएको उच्च चुम्बकीय असमानता हराएको गाडीको सम्भावित स्थानसँग मेल खाने भूगर्भविद्हरूले बताएका छन्। यस स्थानको माटोको नमुना परीक्षणले जमिनको संरचना कमजोर देखिएको छ । जमिनको ५ मिटर गहिराइसम्म पाँगो मिसिएको चिम्ट्याइलो माटो र त्यसमुनी मसिनो बालुवा रहेको पाइएको छ । पाँच दशमलव पाँच मिटर मुनि भूमिगत जल सतह देखिएको छ। विशेषज्ञहरूका अनुसार, यस्तो अवस्थामा क्रेन वा एक्स्काभेटर प्रयोग गरेर गाडी निकाल्न खोज्नु जोखिमयुक्त हुने बताइएको छ ।
घटनास्थल तथा गैरीगाउँ क्षेत्रमा कर्रा खोला आसपास कुनै पनि पूर्वाधार निर्माण गर्दा विस्तृत भूगर्भीय अध्ययन आवश्यक रहेको समेत प्रतिवेदनमा उल्लेख छ। अध्ययनका क्रममा भूगर्भीय नक्सा, उपग्रह तस्बिर, र प्रोटोन म्याग्नेटोमिटर जस्ता प्रविधिको प्रयोग गरिएको थियो।
वैशाख १९ गते जमिन भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी हराएपछि हेटौंडा उपमहानगरको आग्रहमा भासिएको क्षेत्रको अध्ययनका लागि विभागका जियोलोजिष्ट डा. नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणी खनाल र अमर बहादुर थापाको टोली हेटौंडा आएर तथ्यांक तथा नमूना संकलन गरेका थिए । संकलित नमूनाको परीक्षण लैनचौरस्थित खानी तथा तथा भूगर्भ विभागको जियोटेक्निकल प्रयोगशालामा गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*