असत्यको प्रवद्र्धनका लागि प्रविधिको प्रयोग गर्न नहुनेमा प्रधानमन्त्री ओलीको जोड
१९ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यको हत्या र असत्यको प्रवद्र्धनका लागि प्रविधिको प्रयोग गर्न नहुनेमा जोड दिनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको सही प्रयोगमा सजग रहनुपर्ने बताउनु भएको हो । उहाँले सूचना प्रविधिको क्षेत्रमा विशेष विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै सेवा प्रवाहलाई छिटो, छरितो र सुविधायुक्त बनाउन प्रविधिको भूमिका महत्वपूर्ण हुने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय बेइमानीको खेती गर्न र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रविधिको विकाससँगै उत्पन्न हुने समस्याहरूको समाधान गर्दै मानव समाजलाई सुखी बनाउने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।
कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उपकरणहरू दुरुपयोग भइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ ।














