प्रथम जिल्ला परिषद् सम्पन्न
२७ वैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला कार्य समिति मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको छ ।
समितिका जिल्ला अध्यक्ष साधुराम चौंलागाईँको सभाध्यक्षता एवम् बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा शनिबार कार्यक्रम भएको हो । महासंघका अध्यक्ष चौलागाईले विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरुले सञ्चालन गरिरहेका कार्यक्रम, सामुदायिक वनको चूनौति र सवालहरु, आगामी दिनमा गर्नुपर्ने कार्य, वन व्यवस्थापनमा भइरहेको प्रगति लगायतका विषय समेटिएको सांगठनिक प्रतिवेदन प्रस्तूत गर्नुभएको थियो ।
प्रतिवेदन अनुसार मकवानपुर जिल्ला भित्र रहेका ४ सय ४४ सामुदायिक वन उपभोक्ता समूहमध्ये महासंघमा तीन सय ३२ समूह आबद्ध रहेका छन् । यी मध्ये २३ वटा सामुदायिक वन उपभोक्ता समूहले वन उद्यम र पर्यापर्यटन कार्यक्रम सञ्चालन गरि आयआर्जनमा जोडिएको प्रतिवेदनमा उल्ललेख गरिएको छ ।
तथ्यांक अनुसार मकवानपुर जिल्लाको कुल वनक्षेत्र दुई लाख ४५ हजार ५२ हेक्टर रहेकोमा यस वनको क्षेत्रफल एक लाख ९६ हजार एक सय ४५ हेक्टर रहेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्ला स्थित डिभिजन वन कार्यालयका प्रमुख, गैर सरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, १० वटै स्थानीय महासंघका प्रतिनिधिहरू लगायतको उपस्थिती थियो ।














