युवा गजलकार वनबासी र समर्पणको विशेष गजल वाचन
३ जेठ, हेटौँडा । गजल मञ्च मकवानपुरको २ सय २४ औं नियमित गजल यात्रा, विशेष गजल वाचनका साथै महफिल २ गंजल संग्रहमाथि हेटौंडामा परिचर्चा गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को प्रवद्र्धनमा शनिबार सम्पन्न कार्यक्रममा युवा गजलकार रुपक वनबासी र केशव समर्पणले विशेष गजल वाचन गरेका थिए । गजलकार बाबु त्रिपाठीले सहजीकरण गर्नुभएको कार्यक्रममा वनबासी र समर्पणले ८÷८ वटा गजल वाचन गरेका थिए । यसअघि फरक–फरक भौगोलिक क्षेत्रका १० जना युवा गजलकारहरूको गजल संग्रह महफिल २ माथि परिचर्चा गरिएको थियो ।
परिचर्चाकार निमेष निखिलले महफिल २ मा गजलकारहरूले भावुकता मात्रै नभएर अस्तित्वबादी चेतना र सामाजिक उत्तरदायित्व समते बोक्ने प्रयास गरेको बताउनुभयो । गजल संग्रहमा प्रेम, वियोग, वर्गभेद, अस्तित्ववादी चेतना, नारी चेतना, सामाजिक प्रतिबिम्बन लगायतका बहुआयामिक विषयहरू उठान गरिएको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
गत फागुनमा विमोचन गरिएको महफिल २ ले क्षेत्रीयता र भाषिक विविधता समेत उजागर गरेको उहाँले बताउनुभयो । गजलकार बासु त्रिपाठीले सम्पादन गर्नुभएको महफिल २ मा १० जना गजलकारका २०÷२० वटा गजल समावेश गरिएको छ । यस्तै, २ सय २४ औँ नियमित गजल यात्रामा मकवानपुरका ९ जना स्रष्टाहरुले गजल वाचन गरेका थिए । गजल मञ्च मकवानपुरका अध्यक्ष सञ्जिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।














