विद्युत पहुँच दुई वर्षभित्र शतप्रतिशत पु¥याउने सरकारको लक्ष्य
१८ असार, काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत पहुँच शतप्रतिशत पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।
बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले दुई वर्षपछि वार्षिक प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट पुग्ने लक्ष्यका साथ कार्यक्रमहरु अगाडि बढाइएको बताउनु भयो ।
उहाँले यो लक्ष्य हासिल भएमा मुलुक उर्जा निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित र ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्युत पूर्वाधार तथा आयोजना निर्माणका क्रममा ८ लाख ६५ हजार १ सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गर्नुभयो ।
सरकारले सन् २०३५ भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको र सोहीअनुसार कार्यक्रम अघि बढाइएको पनि मन्त्री खड्काले बताउनुभयो ।














