चाडपर्व लक्षित बजार अनुगमन सुरु
६ भदौ, हेटौँडा । चाडपर्वको लहर सुरु भएसँगै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर हेटौडामा बजार अनुगमन सुरु गरिएको छ ।
खाद्य तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको नेतृत्वमा शुक्रबार हेटौंडा बजार क्षेत्रका मिठाई पसलहरुको आकस्मिक अनुगमन गरिएको हो । यसभन्दा पहिलेको अनुगमनका क्रममा कैफियत भेटिएका पसलहरुमा विशेष ध्यान दिएर अनुगमन गरिएको कार्यालय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौडाकी प्रमुख विमला पोखरेलले बताउनुभयो । अनुगमन गरिएका पसलहरुमा श्रीकृष्ण खुवा पसल, दाजुभाई स्वीट्स एण्ड फास्टफुड, मालिका हस्पिटालिटी एण्ड फुड प्रालि, हिमालयन स्विट्स, श्रेष्ठ होटल, समोसा हाउस, र केक प्यालेस रहेका छन् ।
अनुगमनका क्रममा, हेटौंडा २ स्थित श्रीकृष्ण खुवा बिक्री भण्डारमा कैफियत पाइएको छ । कार्यालय प्रमुख विमला पोखरेलका अनुसार, उक्त पसलमा लेबल नभएका मिठाईहरुको बिक्री वितरण, अनुमतिपत्र बिना नै लेबल नभएको घिउको बिक्रीका साथै खाद्य उत्पादन स्थलमा फोहोर पाइएको छ । उक्त खुवा भण्डारलाई खाद्य तथा गुणस्तर ऐन २०८१ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको प्रमुख पोखरेलले बताउनुभयो ।
अन्य मिठाई पसलहरुमा भने अघिल्लो अनुगमनको तुलनामा सुधार आएको पाइएको अनुगमन टोलिले जनाएको छ । अनुगमनमा खाद्य निरिक्षण अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।














