४ नं. वडामा सेवा प्रवाह स्थगित
३१ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयले सेवा प्रवाहको लागि आवश्यक सामग्रीको अभावको कारण देखाउँदै तत्कालका लागि सेवा प्रवाह रोकेको छ ।
वडा कार्यालयमा हस्तलिखित सूचना टाँस गर्दै जेनजी आन्दोलनका क्रममा कार्यालयका सम्पूर्ण सामग्री जलाइएकाले नागरिकहरूलाई तत्काल सेवा दिन नसकिने व्यहोरा उल्लेख गरिएको छ । टिम टेलिभिजनसँग कुरा गर्दै वडा अध्यक्ष नवीन सिग्देलले वडा कार्यालयमा सेवा प्रवाहका लागि आवश्यक कुनै पनि सामग्री नरहेकोले सेवा स्थगन गर्न बाध्य भएको बताउनुभयो ।
कार्यालय सञ्चालनका लागि आवश्यक स्रोत साधन जुटेपछि सेवा सुचारु गरिने उहाँले बताउनुभयो । सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्ने गिरोहलाई कडा कारबाहीको लागि सरकार समक्ष माग सेमत गर्नुभयो ।
भदौ २४ गते भएको आन्दोलनका क्रममा वडा नम्बर ४ कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालयभित्र रहेका सामग्रीहरू बाहिर निकालेर आगो लगाइएको थियो । यस वडा सहित हेटौंडा उपमहानगरपालिकाका ३, १०, ११, १५ र १९ नम्बर वडा कार्यालय पूर्ण रुपमा क्षति भएका छन् भने १३ नम्बर वडामा तोडफोड भएको छ ।














