हेटौंडा अस्पतालका बिरामीलाई फलफूल वितरण
३ असोज, हेटौँडा । संविधान दिवसको अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले शुक्रबार हेटौंडा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको छ ।
बागमती प्रदेश सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा अस्पतालमा उपचाररत् विरामीलाई फलफूल वितरण गरिएको हो । आपतकालीन कक्ष (इमर्जेन्सी) लगायत वार्डमा भर्ना भएका दुई सयभन्दा बढी बिरामीलाई फलफूल वितरण गरिएको हो ।
यसै क्रममा बोल्दै मुख्यमन्त्री बानियाँले बिहिबार र शुक्रबार भर्ना भएका आर्थिक अवस्था कमजोर भएका विरामीको उपचार खर्च कांग्रेस बागमती प्रदेशले बेहोर्ने घोषणा पनि गर्नुभयो ।
फलफूल वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादे लगायतको सहभागिता रहेको थियो ।














