संविधानको रक्षार्थ शान्तिपूर्ण रुपमा प्लेकार्ड प्रदर्शन
३ असोज, हेटौँडा । संविधान दिवस २०८२ को अवसरमा अखिल क्रान्तिकारी मकवानपुरले हेटौंडाको बुद्धचोकमा शान्तिपूर्ण रुपमा प्लेकार्ड प्रदर्शन गरेको छ ।
संविधानको रक्षार्थ आयोजित उक्त कार्यक्रममा कुनै नारावाजी, जुलुस वा सम्बोधन नगरी सहभागीहरूले हातमा संविधानसम्बन्धी नारा लेखिएका प्लेकार्ड बोकेका थिए । करिब ३० मिनेट बुद्धचोक वरिपरि गोलो घेरा बनाएर प्रदर्शन गरिएको थियो ।
अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालको नेतृत्वमा भएको कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटी सदस्य विवेक राई, माओवादीका जिल्ला नेता महेश सिग्देल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेताहरू, प्रेस सेन्टरका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य, पत्रकार तथा प्राध्यापकहरूको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष अर्यालले संविधानले प्रदान गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै आवश्यक संशोधनका माध्यमबाट संविधानलाई थप जनमुखी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।














