विधिको शासन स्थापित गर्ने विषय कांग्रेसको मुख्य प्राथमिकताः सभापति थापा

संवाददाता
७ बैशाख २०८३, सोमबार १९:०४

७ वैशाख, हेटौँडा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गते सम्पन्न निर्वाचनबाट अवसर र चुनौती दुबै प्राप्त भएको बताउनुभएको छ ।
सोमबार हेटौंडामा भएको पार्टीको बागमती प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले निर्वाचनमा हारजीत स्वाभाविक प्रक्रिया भएपनि अब कांग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो स्थान स्थापित गर्नुपर्ने बताउनुभयो । निर्वाचनको सानो घेरामा नबसी त्यस भन्दा माथि उठ्ने बेला भएको उहाँको भनाई छ । मुलुकमा विधिको शासन स्थापित गर्ने विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभएको छ ।
भविष्यमा आफु माथि नै सरकारले अनुसन्धान गर्न खोज्दा कांग्रेसका कोही नेता, कार्यकर्ताले पार्टी सभापतिमाथि अनुसन्धान गर्न पाइँदैन भनेर नभन्ने उहाँले दाबी गर्नुभयो । सभापति थापाले विधिको शासनमा व्यक्तिले कानुन मान्दै गर्दा राज्यले पनि कानुन मान्नु पर्ने उल्लेख गर्नुभयो । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण, बदनियत र प्रतिशोध पूर्ण रहेकोले भदौ २४ गते बारे उच्चस्तरीय न्यायिक छानबीन आयोग बनाउनुपर्ने उहाँको भनाई छ ।
सभापति थापाले पार्टीभित्र सबैलाई मिलाएर लैजाने आफ्नो जिम्मेवारी रहेको हुँदा सबैलाई मिलाएर जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । चुनावी समीक्षा कार्यक्रममा उहाँले पार्टीका शीर्ष नेताहरुसँग कुराकानी सुरु गरेको जानकारी गराउनुभयो । पार्टीमा वृहत्तर एकताका लागि नेताहरुसँग संवाद हुने उहाँले बताउनुभयो ।

पार्टीमा लेबी तिरेर सदस्यता लिएर चुनावको बेला भोट अर्कै पार्टीलाई हाल्नेहरु कांग्रेसी हुन नसक्ने उहाँले जिकिर गर्नुभयो । चुनावमा मत बदल्ने शुभच्छेकहरुलाई पनि भेट्नु उहाँले उल्लेख गर्नुभयो । सभापति थापाले पार्टी भन्दा बाहिर रहेको नयाँ पुस्तालाई समेत पार्टीमा जोड्नुपर्ने उल्लेख गरे । कांग्रेसलाई अब सात सालको जस्तो क्रान्तिकारी चेत, ४६ सालको जस्तो लोकप्रिय पार्टी र ७० सालको जस्तो भरोसायोग्य पार्टी बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी पार्टीका महामन्त्री प्रदिप पौडेलले कांग्रेसलाई बलियो बनाउन कांग्रेसलाई बदलेको बताउनुभयो । रुपान्तरित समाजको एजेण्डालाई कांग्रेसले आत्मसात गर्नुपर्ने उहाँको बुझाई छ । यसैगरी अर्का महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको फैसलाबाट पार्टीभित्रको महाधिवेशनको सर्वोच्चता स्थापित भएको बताउनुभयो । विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व हस्तान्तरण मात्र नभई पुुस्तान्तरण भएको उहाँले उल्लेख गर्नुभयो । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको व्यवस्थापनमा भएको समीक्षा कार्यक्रममा प्रदेशको ३३ वटै क्षेत्रका उम्मेदवार लगायत जिल्ला सभापतिहरुले आ–आफना्े धारणा राखेका थिए । बागमती प्रदेशमा नेपाली कांग्रेसले रसुवामा मात्र जित हासिल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*