आत्महत्या सम्बन्धी समाचारलाई केन्द्रबिन्दु बनाउन नहुनेमा जोड
११ वैशाख, हेटौँडा । आत्महत्या सम्बन्धी समाचारलाई केन्द्रबिन्दु बनाउन नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन ।
जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजना एवम् पत्रकार महासंघ मकवानपुर शाखाको समन्वयमा शुक्रबार भएको आत्महत्या रिपोर्टिङ सम्बन्धी सञ्चारकर्मीहरुसंगको अभिमुखीकरण कार्यक्रममा आत्महत्या सम्बन्धी घटनाको समाचारलाई केन्द्रबिन्दु नबनाउन र अनावश्यक रुपमा दोहो¥याउन नहुने बताइएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले प्रस्तुतीकरण राख्नुहुँदै त्यस्ता घटनालाई सनसनीपूर्ण वा सामान्यीकरण गर्ने भाषाको प्रयोग नगर्ने र एक मात्र सही समाधानको रुपमा चित्रण गर्नुपर्ने बताउनुभयो । तथ्याङ्क र सुचनाहरुलाई होसियारीपूर्वक र सही तरिकाले प्रस्तुत गर्नुपर्नेमा उहाँको जोड थियो ।
प्रमुख श्रेष्ठले सञ्चारकर्मीहरुले रिपोर्टिङ गर्दा आत्महत्याको साधन र तरिका बारे व्याख्या नगरी घटना भएको स्थान बारे पनि विस्तृत जानकारी दिन नहुने बताउनुभयो । त्यस किसिमको समाचार सामग्रीबाट सञ्चारकर्मीलाई पनि असर पर्न सक्ने बारे सञ्चारगृह र सञ्चारकर्मी एवम् पनि सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
प्रमुख श्रेष्ठका अनुसार मकवानपुरमा चालु आर्थिक वर्षको हालसम्म ३१ जना महिला र ४८ जना पुरुष गरी ७९ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी आर्थिक वर्ष २०८०÷८१ मा ४८ जना महिला र ९२ जना पुरुष गरी १ सय ४० जना, आर्थिक वर्ष २०८१÷८२ मा ४८ जना महिला र ८२ जना पुरुष गरी १ सय ३० जनाले आत्महत्या गरेका छन् । त्यसैगरी प्रदेशगत रुपमा गत आर्थिक वर्षमा सबैभन्दा बढी कोशी प्रदेशमा २१ प्रतिशत आत्महत्याका घटना हुँदा सबैभन्दा कम कर्णाली प्रदेशमा ४ प्रतिशत सो घटना घटेका छन् । त्यसैगरी बागमतीमा २०, लुम्बिनीमा १९, मधेशमा १८, गण्डकी र सुदुरपश्चिममा ९ प्रतिशत आत्महत्याका घटना घटेको प्रमुख श्रेष्ठको प्रस्तुतीकरणमा उल्लेख गरिएको छ ।
नेपालमा दैनिक सरदर २० जनाको आत्महत्याको कारण मृत्यु हुने गरेको छ । गत आर्थिक वर्षमा मात्रै ७ हजार ५५ जना आत्महत्याको कारण ज्यान गएको थियो भने प्रति लाखमा करिब २४ जनाले आत्महत्याको कारण ज्यान गुमाएका थिए । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० को अनुसार ६ दशमलब ५ प्रतिशत वयस्क र ३ दशमलब ९ प्रतिशत किशोरकिशोरीहमा आत्महत्याको सोच रहेको पाइएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आत्महत्या रोकथाम र नियन्त्रणको लागि २४ सै घण्टा उपलब्ध हुने ११६६ नम्बरको हटलाईन सेवा सञ्चालन गरिरहेको छ । पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, महासंघका पूर्व अध्यक्ष राममणि दाहाल लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।














