बजेटले विपन्न वर्गका समस्या सम्बोधन गर्न सकेनः सभापति थापा

संवाददाता
१६ जेष्ठ २०८३, शनिबार १७:२४

१६ जेठ, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारका प्रयासहरू अगाडि सारे पनि न्युन आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा काँग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताउनु भयो । उहाँले सकारात्मक पक्षहरूमा आवश्यक कानून निर्माण गर्न प्रतिपक्षको हैसियतले काँग्रेसले सहयोग गर्ने स्पष्ट पार्नुभयो । यद्यपि बजेट र सरकारको कार्यशैलीले गरिबी निवारण भन्दा पनि ‘गरिब मास्ने’ नियत राखेको उहाँको गम्भीर आरोप छ ।
सभापति थापाले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्युन आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकार उनीहरूप्रति उदासीन बनेको दाबी गर्नुभयो । सरकारका कतिपय निर्णयहरूको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको उहाँले बताउनु भयो ।
सभापति थापाले पार्टीका भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र नेतृत्वको गन्थन छोडेर जनताको बीचमा जान निर्देशन दिनुभयो । थारु संघ, विद्यार्थी संगठन, महिला र दलित संघ जस्ता संस्थाहरूले आ–आफ्नो समुदायको हकहितका लागि गाउँ–गाउँ पुगेर नागरिकको भरोसा जित्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*