अतिक्रमित जग्गा खाली गराउन मत्स्य प्रवद्र्धन केन्द्रले डोजर चलायो

संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार १६:५५

१५ जेठ, हेटौँडा । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गराउन डोजर चलाएको छ ।
केन्द्रले पटक–पटक सूचना जारी गर्दा समेत अतिक्रमित क्षेत्र खाली नगरिएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा शुक्रबारदेखि संरचना हटाउने काम सुरु गरिएको हो । केन्द्रले गत जेठ ८ गते तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै आफ्नो नाममा रहेको जग्गा ७ दिनभित्र खाली गर्न निर्देशन दिएको थियो । त्यसपछि माइकिङ गर्नुका साथै घर–घरमा सूचना टाँस गरेर अतिक्रमण हटाउन आग्रह गरिएको थियो । तर तोकिएको समयभित्र पनि अतिक्रमण नहटाइएपछि केन्द्रले प्रशासन र सुरक्षाकर्मीको सहयोगमा डोजर प्रयोग गरी संरचना हटाउन थालेको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका–५मा रहेको केन्द्रको नाममा दर्ता भएको कित्ता नम्बर ९६ को करिब ४ कठ्ठा क्षेत्रफल जग्गा केही व्यक्तिहरुले अनधिकृत रुपमा प्रयोग गर्दै आएका थिए । अतिक्रमण गरी निर्माण गरिएका ७ वटा घर–टहरा तथा शौचालय हटाइने केन्द्रका प्रमुख सरोज कुमार यादवले जानकारी दिनुभयो ।
केन्द्रले मत्स्य उत्पादनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकाले अतिक्रमण हटाउनुपरेको बताउनुभयो । जग्गा खाली भएपछि उक्त क्षेत्रमा ग्रास कार्प माछाका लागि आवश्यक आहारा उत्पादन गरिने केन्द्रले जनाएको छ । त्यसका लागि केरा, मकै, भटमास लगायतका बाली लगाइनेछ भने नेपीयर, सुडान, बदामे, परा र ढैंचा जस्ता उन्नत घाँस पनि खेती गरिने प्रमुख यादवले जानकारी दिनुभयो ।
माछा उत्पादनलाई दिगो र व्यावसायिक बनाउने उद्देश्यले आफ्नै जग्गामा आहारा उत्पादन गर्ने योजना अघि बढाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*