जेन–जी आन्दोलन उग्र बन्नुमा तत्कालीन सरकारको नेतृत्वको अभिव्यक्ति मुख्य जिम्मेवारः आयोग

‘जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न लगाए’
संवाददाता
२३ जेष्ठ २०८३, शनिबार १३:३४

२३ जेठ, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलन उग्र बन्नुमा तत्कालीन सरकारको नेतृत्व र सञ्चारमन्त्रीको अभिव्यक्तिलाई मुख्य जिम्मेवार ठहर गरेको छ ।
नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक एवं आयोग सदस्य डा. लिली थापाले यस्तो बताउनुभएको हो । आयोगले आन्दोलन उग्र बन्नुमा तत्कालीन सरकारको नेतृत्व र सञ्चारमन्त्रीको अभिव्यक्तिको पनि भुमिका रहेको औंल्याएको छ । तत्कालीन प्रधानमन्त्रीले सवारी दुर्घटनाका विषयमा दिनुभएको अभिव्यक्ति र सञ्चारमन्त्रीको उत्तेजनात्मक टिप्पणीले युवा पुस्तालाई उक्साउने र आन्दोलनमा इन्धन थप्ने काम गरेको डा. थापाको भनाइ छ ।
आयोगले जेन–जी’ आन्दोलनका क्रममा १५ जना सांसद तथा राजनीतिक नेताहरूले उत्तेजनात्मक भुमिका खेलेको निष्कर्ष निकालेको छ । समितिकी संयोजक डा. थापाका अनुसार अनुसन्धानका क्रममा कारागारका जेलर, विभागका निर्देशक र रवि लामिछाने लगायतसँग सोधपुछ गरिएको थियो । जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराएको र पत्र लेख्न लगाएको तथ्य अनुसन्धानबाट खुलेको डा. थापाले बताउनु भयो ।
त्यसैगरी आयोगले ‘जेन–जी’ आन्दोलनका क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरिएको र हिंसा भड्काउन उत्तेजक भुमिका खेलिएको निष्कर्ष निकालेको छ । आयोग सदस्य डा. थापाले आन्दोलनका क्रममा भएका गतिविधिहरू मानव अधिकारको दृष्टिकोणबाट गम्भीर रहेको बताउनु भयो । प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिइएको भनी उठेका प्रश्नहरूको खण्डन गर्दै डा. थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरिएको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार नेपाली सेनालाई घटनामा जिम्मेवार देखिएका कमाण्डरहरूलाई सचेत गराउन र आगामी दिनमा यस्ता कार्य नदोहो¥याउन निर्देशन दिने सिफारिस गरिएको छ ।
प्रधानमन्त्रीको नाम समावेश नगरिएको विषयमा स्पष्ट पार्दै उहाँले आफूहरु कसैसँग पनि नडराएको र गहन विश्लेषण र मानव अधिकारको दृष्टिकोणबाट मात्र रिपोर्ट तयार पारेको बताउनु भयो । पीडित परिवारको पीडा र युवाहरूको मृत्युलाई आधार मानेर दोषीउपर सिफारिस गरिएको उहाँको भनाइ छ ।
त्यसैगरी आयोगले जेन–जी आन्दोलनमा गोली कसले र कहाँबाट चल्यो भन्नेकुरा यकिन गर्न नसकिएको बताएको छ । आयोग सदस्य थापाले गोली कसले हानेको हो, कुन गोली कहाँबाट आएको हो ? भन्ने यकिन गर्न नसकिएको स्पष्ट पार्नुभएको हो । आयोगले ब्यालेस्टिक र फरेन्सिक रिपोर्टका आधारमा कति मिलिमिटरको गोली प्रयोग भएको थियो भन्ने प्राविधिक तथ्य फेला पारे पनि गोली चलाउने व्यक्तिको पहिचान गर्न भने चुनौती देखिएको जनाएको छ ।
उहाँका अनुसार प्रदर्शनकारीलाई लागेका अधिकांश गोली छाती र पेटभन्दा माथिल्लो भागमा रहेको पाइएको छ । विशेष कार्यदल अग्रपङ्क्तिमा तैनाथ रहेको र संसद भवन क्षेत्रबाट गोली चलेको देखिए पनि कुन गोली कसले चलाएको हो भन्ने विषयमा यकिन हुन नसकेको प्रतिवेदनमा उहाँको भनाइ छ । यद्यपि, गोली प्रदर्शनकारीको घेराभित्रैबाट चलेको निष्कर्षमा आयोग पुगेको छ ।
आयोगले सिफारिस गरेका विषयहरू कार्यान्वयन नभए भविष्यमा पुनः सडक आन्दोलन हुनसक्ने र यसले अन्तर्राष्ट्रिय रूपमा समेत नेपालको छविमा नकारात्मक प्रभाव पार्ने चेतावनी उहाँले दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*