नवनियुक्त २ मन्त्रीद्वारा शपथ ग्रहण

संवाददाता
२६ जेष्ठ २०८३, मंगलवार १७:४९

२६ जेठ, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । गुरुङ पूर्व गृहमन्त्री हुनुहुन्छ भने पुनसमेत पूर्व शिक्षामन्त्री हुनुहुन्छ ।
गुरुङ रास्वपाका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने पुन स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । पहिलो पटक २०८२ चैत १३ गते गृहमन्त्री बन्नुभएका गुरुङले मन्त्री पदबाट २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिनुभएको थियो । व्यापारी दीपक भट्टसँग सेयर लगानी गरेको भन्दै प्रश्न उठेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।
२०८३ वैशाख २८ गतेको मन्त्रीपरिषद्को बैठकले गुरुङमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहने गरी समिति गठन गरेको थियो । उक्त समितिले बुझाएको प्रतिवेदन मंगलबार मन्त्रिपरिषद्ले ग्रहण गरे लगत्तै उहाँ पुन गृहमन्त्री बन्नुभएको हो । महावीर पुन भने २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारका शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँले २०८२ फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमामा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गर्नु अघि मन्त्री पदबाट राजीनामा दिनुभएको हो । उहाँ नेपाल आविष्कार केन्द्रका संस्थापक हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*