विभेदकारी विज्ञापन नीतिविरुद्ध संकलिन हस्ताक्षर प्रजिअ मार्फत् प्रधानमन्त्रीलाई बुझाईयो

संवाददाता
२५ जेष्ठ २०८३, सोमबार १४:२१

२५ जेठ, हेटौँडा । सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदकारी नीति अपनाइएको भन्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ मकवानपुरले संकलन गरेको हस्ताक्षर सोमबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई बुझाइएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार जिल्ला शाखाले जेठ ७ गतेदेखि संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी अधिकारी मार्फत् प्रधानमन्त्रीलाई बुझाइएको हो । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला शाखाका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा हस्ताक्षर बुझाइएको थियो । खर्च कटौतीको बहाना बनाएर संघीय, प्रदेश तथा स्थानीय तहका सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय प्रेस स्वतन्त्रताविरोधी तथा निजी सञ्चारमाध्यममाथि विभेदकारी रहेको महासंघको ठहर छ ।
महासंघले विभेदकारी र स्वेच्छाचारी सूचना तथा विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर्न र नागरिकको निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न माग गर्दै विगत दुई महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ । महासंघले सार्वजनिक गरेको पछिल्लो आन्दोलन कार्यक्रमअनुसार जेठ २७ र २९ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, असार १ र ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्ना दिने तथा असार ५ गते केन्द्रीय समितिको आयोजनामा पेशागत संगठन र सरोकारवालाको सहभागितामा वृहत् ऐक्यबद्धता ¥याली आयोजना गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*