हेटौंडामा ‘समर स्टिम क्याम्प एण्ड एक्स्पो–२०२६’ सुरु
२५ जेठ, हेटौँडा । विद्यालय तहका विद्यार्थीमा अनुसन्धान, नवप्रवर्तन र सिर्जनात्मक सोचको विकास गर्ने उद्देश्यले एन्ट्रोनोभा फाउन्डेसनको आयोजनामा हेटौंडामा ‘समर स्टिम क्याम्प एण्ड एक्स्पो–२०२६’ सञ्चालन आयोजना गरिएको छ ।
हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको संग्रहालयमा आयोजित एक्स्पोको चौथो संस्करण सोमबारदेखि सुरु भएको हो । दुईदिने कार्यक्रम मंगलबार सम्म सञ्चालन हुनेछ । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितमा आधारित एक्स्पोमा मकवानपुरसहित बारा, पर्सा, सर्लाही, काठमाडौं, कञ्चनपुर लगायत आठ जिल्लाका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी भएका छन् । एक्स्पोमा विद्यार्थीहरूले आफ्नो समुदाय तथा समाजमा देखिएका विभिन्न समस्याको वैज्ञानिक अध्ययन तथा अनुसन्धान गरी समाधानका उपायसहित तयार पारेका ४५ भन्दा बढी परियोजना प्रदर्शनमा राखिएको छ ।

प्रदर्शनीमा स्मार्ट भिलेज, स्मार्ट किचेन, स्मार्ट डस्टबिन, स्मार्ट एग्रो, डिजिटल भोटिङ सिस्टम, एन्टी–स्लीप अलार्मिङ सिस्टम, घाँस काट्ने आधुनिक कटर, रोबोटिक्स तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित परियोजनाहरू समावेश छन् । सानै उमेरदेखि विद्यार्थीमा अनुसन्धानमुखी सोच, नवप्रवर्तन र अध्ययनशीलता विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको कार्यक्रम संयोजक आयुष बस्नेतले बताउनुभयो ।
दुईदिने एक्स्पोको पहिलो दिन पाँच हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने एक विद्यार्थीलाई ‘योङ साइन्टिस्ट अवार्ड’ प्रदान गरिनेछ । उक्त अवार्ड प्राप्त गर्ने विद्यार्थीले ताइवान र इन्डोनेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा प्रत्यक्ष मनोनयनको अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक बस्नेतले जानकारी दिनुभयो ।

यसका साथै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रमको समापन समारोह हेटौंडाको ओम्याक्स हलमा आयोजना गरिनेछ ।
एन्ट्रोनोभा फाउन्डेसनले आगामी दिनमा देशभरका साथै अन्तर्राष्ट्रिय विद्यार्थीको सहभागितामा नेशनल साइन्स एण्ड इन्जिनियरिङ फेयरको आयोजना गर्ने तयारीसमेत गरेको जनाएको छ ।














