आगामी निर्वाचनमा रास्वपाले चमत्कार गर्छः महामन्त्री बुर्लाकोटी
२६ जेठ, हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा रास्वपाले चमत्कारिक परिणाम हासिल गर्ने दाबी गर्नुभएको छ ।
जनताको बढ्दो विश्वास, समर्थन र सहभागिताले पार्टीलाई थप बलियो बनाएको भन्दै उहाँले आगामी निर्वाचनमा त्यसको प्रतिफल देखिने बताउनुभयो ।
रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई मंगलबार हेटौंडामा सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति नागरिकहरूमा असन्तुष्टि बढ्दै गएको बताउनुभयो । परम्परागत राजनीतिक दलप्रति जनताको विश्वास कमजोर बन्दै गएको र त्यसको विकल्पका रूपमा रास्वपा स्थापित भइरहेको उहाँको भनाइ थियो ।
आम नागरिकले परिवर्तन, सुशासन र जवाफदेहिताको अपेक्षा रास्वपासँग जोडेको उल्लेख गर्दै उहाँले जनताको विश्वासलाई परिणाममा बदल्ने जिम्मेवारी पार्टीमाथि रहेको बताउनुभयो ।
उहाँले आगामी निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धाका रूपमा नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । स्थानीय सरकार नै जनतासँग प्रत्यक्ष जोडिने तह भएकाले स्थानीय तहबाटै परिवर्तनको सुरुवात गर्नुपर्ने उहाँले बताउनुभयो ।
आगामी निर्वाचनमा सक्षम, इमानदार, जनउत्तरदायी र स्वच्छ छवि भएका व्यक्तिलाई उम्मेदवार बनाइने उहाँको भनाइ थियो । उम्मेदवार छनोटमा योग्यता, क्षमता, योगदान र जनविश्वासलाई प्राथमिकतामा राखिने उहाँले स्पष्ट पार्नुभयो ।
महामन्त्री बुर्लाकोटीले पार्टीभित्र जिम्मेवारी वितरण गर्दा पनि योगदान, इमानदारिता, क्षमता र कार्यसम्पादनलाई आधार बनाइने बताउनुभयो । छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन प्राप्त गरेपछि विभिन्न उद्देश्य बोकेर धेरै व्यक्ति पार्टीमा जोडिएको स्वीकार गर्दै उहाँले संगठनलाई विचार, सिद्धान्त र योग्यताका आधारमा अघि बढाइने बताउनुभयो । पार्टीमा अवसरको आधार नातावाद, गुटबन्दी वा व्यक्तिगत सम्बन्ध नभई कार्यक्षमता हुने उहाँको भनाइ थियो ।
रास्वपा कुनै व्यक्तिको राजनीतिक भविष्य निर्माण गर्ने माध्यम नभई देशको भविष्य निर्माण गर्ने अभियान भएको उल्लेख गर्दै उहाँले पार्टी राष्ट्रको समृद्धि, सुशासन र राजनीतिक सुधारको लक्ष्यसहित अघि बढिरहेको बताउनुभयो । हाल पार्टीमा पाँच लाखभन्दा बढी सदस्य आबद्ध रहेको जानकारी दिँदै उहाँले संगठनात्मक रूपमा पार्टी निरन्तर विस्तार भइरहेको र राजनीतिक रूपमा पनि परिपक्व बन्दै गएको दाबी गर्नुभयो ।
उहाँले देशको राजनीतिमा वैकल्पिक सोच, नयाँ कार्यशैली र उत्तरदायी राजनीतिक संस्कार स्थापित गर्न रास्वपा प्रतिबद्ध रहेको बताउनुभयो । पार्टीलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन देशभर संगठन विस्तार, प्रशिक्षण तथा जनसंवादका कार्यक्रम सञ्चालन भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रममा बोल्दै पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले रास्वपाप्रति जनताको विश्वास दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वदायी क्षमताले जनताले देखेको परिवर्तनको सपना पूरा हुने वातावरण बनेको उहाँको भनाइ थियो ।
उहाँले पार्टी अप्ठ्यारो अवस्थामा हुँदा नेतृत्वलाई साथ दिने र नेतृत्वकै विकल्प खोज्ने दुवै प्रवृत्तिलाई आफूहरूले नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो । संगठनलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सभापति रवि लामिछाने र प्रधानमन्त्रीबीच कुनै प्रकारको मतभेद नरहेको स्पष्ट पार्दै उहाँले पार्टी र सरकार सञ्चालनका विषयमा नियमित छलफल र समन्वय भइरहेको जानकारी दिनुभयो ।
राष्ट्रिय जिम्मेवारी बोकेको दलका रूपमा रास्वपाले संयमता, परिपक्वता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो । देशको नेतृत्व गरिरहेको पार्टी भएकाले हरेक कदम सोचविचार गरेर अगाडि बढाइएको उहाँले बताउनुभयो ।
त्यसैगरी प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले नयाँ पुस्ताको राजनीतिक चेतना र जागरणबाट रास्वपाको उदय भएको बताउनुभयो । भदौ २३ र २४ गतेको आन्दोलनले नेपालमा नयाँ राजनीतिक संस्कार र संस्कृतिको सुरुवात गरेको उहाँको दाबी थियो ।
उहाँले पुराना राजनीतिक दलहरूले लामो समयसम्म देशलाई अपेक्षित दिशामा अघि बढाउन नसकेको आरोप लगाउनुभयो । जनताले परिवर्तनको अपेक्षासहित दिएको जनादेशलाई संस्थागत गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ थियो । रास्वपा एकढिक्का भएर अगाडि बढ्ने र आगामी दिनमा अझ सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आगामी महाधिवेशनपछि पार्टी संगठन थप व्यवस्थित, अनुशासित र प्रभावकारी बन्ने दाबी गर्दै उहाँले सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्न रास्वपा प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू जगदिश खरेल, तोसिमा कार्की, आशिका तामाङ, प्रकाश गौतम, प्रशान्त उप्रेती, समीक्षा बास्कोटालगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता, कार्यकर्ता र प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।














