विज्ञापनले कुरूप बन्दै चुरियामाई मन्दिर
२६ जेठ, हेटौँडा । मकवानपुर र बाराको सिमानामा रहेको प्रसिद्ध धार्मिक स्थल चुरियामाई मन्दिर परिसरमा जथाभावी राखिएका विज्ञापनजन्य सामग्रीका कारण मन्दिर क्षेत्रको सौन्दर्य र धार्मिक गरिमामा असर परेको छ ।
मन्दिर परिसर, प्रवेशद्वार तथा पूर्व–पश्चिम राजमार्ग आसपास विभिन्न शैक्षिक संस्था, व्यवसायिक प्रतिष्ठान र संघसंस्थाका होर्डिङ बोर्ड तथा प्रचार सामग्री राखिँदा मन्दिर क्षेत्र असोभनीय बनेको हो । हजारौं भक्तजन तथा पर्यटक पुग्ने मकवानपुर र बारा जिल्लाको सिमानामा अवस्थित चुरियामाई मन्दिर क्षेत्रको प्रवेशद्वारमा राखिएका प्रचार सामग्री हेर्दा कुनै धार्मिक स्थलभन्दा पनि शैक्षिक संस्था वा व्यवसायिक प्रतिष्ठानको परिसर जस्तो देखिन्छ ।
मन्दिरको मुख्य प्रवेशद्वारमै विभिन्न विज्ञापन टाँसिएका छन् भने परिसरका संरचनाहरूमा समेत प्रचार सामग्री राखिएका छन् । मन्दिर क्षेत्र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पटक–पटक आग्रह गर्दा पनि आवश्यक संरचना निर्माण नभएपछि जस्ले सहयोग गर्यो उसैको प्रचार समाग्री राखिएको चुरियामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रमबहादुर भोम्जनले स्वीकार गर्नुभयो ।

यस विषयमा सोमबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले चुरियामाई मन्दिर क्षेत्रको अनुगमन गरेको थियो । साँघुरो मोड र जोखिमयुक्त स्थानमा राखिएका यस्ता होर्डिङ बोर्ड तथा विज्ञापन सामग्रीले दुर्घटनाको जोखिम समेत बढाउने हुँदा सडक अधिकार क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा सडक सुरक्षामा असर गर्ने सामग्री हटाइने सहायक प्रमेख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
सार्वजनिक स्थानमा विज्ञापन राख्ने अनुमति दिने अधिकार सम्बन्धित स्थानीय तहसँग रहेको छ । हेटौंडा उपमहानगरपालिकाका राजस्व महाशाखा प्रमुख जगन्नाथ अर्यालले चुरियामाई मन्दिर क्षेत्रमा राखिएका प्रचार सामग्रीका लागि उपमहानगरलाई राजस्व नबुझाइएको बताउनुभयो । सार्वजनिक तथा धार्मिक महत्वका क्षेत्रमा अनुमति नलिई राखिएका विज्ञापनजन्य सामग्री हटाउने प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
सडक सुरक्षा र धार्मिक गरिमा दुवैलाई असर पु¥याउने यस्ता विज्ञापन हटाउन अब कडाइका साथ कार्यान्वयन आवश्यक देखिएको छ ।














