एचआइभी÷एड्स सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

संवाददाता
२६ जेष्ठ २०८३, मंगलवार १८:१४

२६ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको समन्वय र एएचएफ नेपाल–हेटौँडाको सहकार्यमा विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत एचआइभी÷एड्स सम्बन्धी सचेतना कार्यक्रम युग चेतना माध्यमिक विद्यालय, हेटौँडामा सम्पन्न गरिएको हो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक शङ्कर बहादुर थिङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रतिनिधि अस्मिता बैदारको विशेष उपस्थिति रहेको थियो । त्यस्तै, एएचएफ नेपाल–हेटौँडाका प्रतिनिधि अमृत लामिछानेले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मकवानपुर महिला उत्थान समाजकी कुसुम श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूलाई एचआइभी÷एड्स सम्बन्धी आधारभूत तथा व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।
एचआइभी के हो, एड्स के हो, यो कसरी सर्छ र कसरी सर्दैन, बच्ने उपाय, परीक्षणको महत्व, एआरटी उपचार तथा यू=यू (अदृश्य = नसर्ने) अवधारणाबारे सरल तरिकाले जानकारी दिइएको थियो । सहजीकरणका क्रममा एचआइभी÷एड्स सम्बन्धी समाजमा फैलिएका गलत बुझाइ तथा भ्रमहरूलाई वैज्ञानिक तथ्यका आधारमा स्पष्ट पारिएको थियो। साथै, एचआइभी सङ्क्रमित व्यक्तिप्रति हुने भेदभाव र कलङ्क हटाउन सबैले सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार विश्वभर ४० दशमलब ८ मिलियन मानिसहरू एचआइभीसँग बाँचिरहेका छन् ।
नियमित एआरटी उपचार लिएमा एचआइभी सङ्क्रमित व्यक्तिहरूले पनि स्वस्थ र लामो जीवन बिताउन सक्ने जानकारी दिइएको थियो । कार्यक्रममा प्रधानाध्यापक थिङले विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी सही जानकारी फैलाउन यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउनुभयो । त्यसैगरी उपमहानगरपालिका प्रतिनिधि बैदारले युवाहरूमा सचेतना बढेमा एचआइभी रोकथाम र भेदभाव न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यमा “एचआइभी भाइरस हो, श्राप होइन। परीक्षण गरौँ, उपचार गरौँ र सम्मानपूर्वक व्यवहार गरौँ ।” भन्ने सन्देश दिँदै कार्यक्रम सम्पन्न गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*