हेटौंडा उपमहानगरपालिका वडा नम्बर —६ पन्ध्र बिगाहमा वृक्षारोपण
३ कार्तिक, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर —६ पन्ध्र बिगाहमा वृक्षारोपण गरिएको छ ।
रामकाजी पधेरा(कुवा) संरक्षण एवं निर्माण उपभोक्ता समितिको आयोजनामा रामकाजी पधेरा नजिकको सार्वजनिक जग्गामा वृक्षारोपण गरिएको हो । बागमती प्रदेश सभा सदस्य तथा पुर्व श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा वृक्षारोपण भएको हो । सो अवसरमा विभिन्न जातका करीब एक सय वटा विरुवा रोप्नुका साथै संरक्षणका लागि तारजाली समेत लगाईको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सार्वजनिक जग्गा संरक्षणमा स्थानीयले देखाएको चासोको प्रशंसा गर्नुभयो ।

सार्वजनिक जग्गाको संरक्षणको जिम्मेवारी सबैको भएको उल्लेख गर्दै ६ नम्बर वडामा भएका सार्वजनिक जग्गा खोजेर ती जग्गाहरूको संरक्षणमा लाग्नको निम्ती स्थानीयलाई सुझाव दिनुभयो । प्रदेश सभा सदस्य श्रेष्ठले पछिल्लो समय देश व्यापी रुपमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढीरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष किर्तिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ६ नम्बर वडाका पूर्व अध्यक्ष एवं भूमी आयोग विज्ञ सदस्य अर्जुन चौंलागाई, वडा सदस्य लेखराज ढकाल, एमाले ६ नम्बर वडा अध्यक्ष विश्वराज राई, नेकपा समाजवादी ६ नम्बर अध्यक्ष हरि प्रसाद दाहाल लगायतको उपस्थिती थियो । कार्यक्रम स्थानीय समाजसेवी विष्णु ढुंगानाले सञ्चालन गर्नुभएको थियो ।














