मकवानपुरका १३ जना साइकलयात्रीको मेची–महाकाली यात्रा सुरु
११ कार्तिक, हेटौँडा । मकवानपुरका १३ जना साइकलयात्रीले शनिबार देखि पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।
मेची नगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर साइकल यात्रीहरुलाई बिदाइ गरेका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकल यात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता रहेको छ । सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकल यात्राको आयोजना गरिएको बताउनुभयो । यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीयस्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताउनुभयो । पूर्वी नाका काँकडभिट्टाबाट शनिबार बिहानबाट सुरु भएको सो यात्रा दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले जानकारी दिनुभयो ।














