कोइलाको अभावमा हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पुनः बन्द

संवाददाता
१३ कार्तिक २०८०, सोमबार १३:४९

१३ कार्तिक, हेटौँडा । हेटौंडा सिमेन्ट उद्योगले सोमबारदेखि पुनः उत्पादन बन्द गरेको छ ।
आर्थिक संकटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा उद्योगले उत्पादन बन्द गरेको हो । सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादशैंको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिनुभयो । उहाँले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताउनुभयो । महाप्रबन्धक पाण्डेले आर्थिक संकटबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताउनुभयो । कुल तीन लाख बोरा सिमेन्ट काठमाडौं लगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिदमा लगाइने उद्योग प्रशासनले जनाएको छ । कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने महाप्रबन्धक पाण्डेले बताउनुभयो । २०३३ सालमा लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि व्यावसायिक रुपमा उत्पादन सुरुवात गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*