शान्ति प्रक्रियामा नेपाल एक्लै छैनः महासचिव गुटरेस

संवाददाता
१४ कार्तिक २०८०, मंगलवार १७:४७

१४ कार्तिक, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालको शान्ति प्रक्रियामा भइरहेको प्रगतिबारे सन्तोष व्यक्त गर्नुभएको छ ।
मंगलबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै महासचिव गुटरेसले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने प्रयासमा नेपाल एक्लै नरहेको भन्दै आफूहरुको सद्भाव रहेको बताउनुभयो । नेपालका शान्ति प्रक्रियालाई सघाउन पाउँदा राष्ट्रसंघले गौरव महशुस गर्ने उहाँले बताउनुभयो । महासचिव गुटरेसले पीडित पक्षको अधिकारको रक्षा गर्दै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन आग्रह समेत गर्नुभयो । उहाँले नेपालले लामो समयको प्रयासपछि संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्न लागिरहेको उल्लेख गर्दै यसले नेपालको दिगो शान्ति र विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
महासचिव गुटरेसले संसारले व्यहोरेको जलवायु परिवर्तनको चुनौती नेपालले समेत झेल्नुपरेको आफ्नै आँखाले देखेको बताउनुभयो । सगरमाथा आधार शिविरदेखि विभिन्न ठाउँमा गएर आफूले जलवायु संकट देख्न पाएको उहाँले सम्बोधनको क्रममा उल्लेख गर्नुभयो । उहाँले नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको बताउनुभयो । जलवायु परिवर्तनको परिणाम स्वरूप देशमा डरलाग्दो अन्याय भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो । अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा नेपाललाई राष्ट्रसंघले सघाउने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली सेनाले राष्ट्र सङ्घीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।
महासचिव गुटरेसले पश्चिम एसियामा भइरहेको द्वन्द्वलाई आफूले नजिकैबाट हेरिरहेको भन्दै हमासको क्रुर आक्रमणका क्रममा इजरायलमा ज्यान गुमाउने नेपालीहरुप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*