मकवानपुरमा पहिलो पटक गैरआवासीय नेपालीले लिए नागरिकता
१५ कार्तिक, हेटौँडा । मकवानपुर जिल्लाबाट पहिलो पटक गैरआवासीय नेपालीले नागरिकता लिएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ११ की संजीता विडारीले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गैर आवासीय नागरिकता लिनुभएको हो । प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईँले संजीता अधिकारीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्दै जिल्लामा पहिलोपटक गैरआवासीय नेपालीको लागी नागरिकता वितरण कार्य सुरु गर्नुभएको हो । नागरिकता प्राप्त गर्नुअघि विडारीले संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक गैरआवासीय नेपालीको रुपमा कर्तव्य पालना गर्ने भन्दै इश्वर, देश र जनताका नाममा सपथ लिनुभएको थियो । साथै उहाँका श्रीमान् श्रीकृष्ण थापाले पनि बुधबार नै गैरआवासिय नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । थापा दम्पति विगत १५ वर्षदेखि अष्ट्रेलिया बस्दै आएका छन् । पूनः नागरिकता प्राप्त गरेपश्चात निकै खुशी लागेको श्रीकृष्ण थापाले बताउनुभयो । उहाँले नेपाल प्रतिको माया थप प्रगाढ बनाएको उल्ल्लेख गर्नुभयो ।
गैरआवासीय नेपालीले नेपालको नागरिकता प्राप्त गर्न निवेदक वा विनेदकका बुबा आमा हजुरबुबा–हजुरआमा नेपालको नागरिक रहेको प्रमाण, पहिले नेपाली नागरिकता लिएको भए त्याग गरेको प्रमाणका साथै विदेशको नागरिकता भएको प्रमाण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ । गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनैतिक र मताधिकार बाहेकका सबै अधिकार प्राप्त गर्नेछन् ।














