संघीयतालाई हुर्काउनु र बढाउनु सबैको दायित्वः प्रदेश प्रमुख शर्मा
१६ कार्तिक, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संघीयता शैशव कालमै रहेकाले सबै सचेत रहन्ुपर्ने बताउनुभएको छ ।
आदिवासी जनजाति आयोगले बुझाएको चौथो प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले संघीयतालाई हुर्काउने, बढाउने दायित्व सबैको भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले गति लिन सके सीमान्तकृत पिछडिएका वर्ग समुदायको उत्थान गर्न सकिने बताउनुभयो । सिमान्तकृत तथा पिछडिएका समुदायका विकासका लागि सारेकारवाला निकायहरु गम्भिरता पूर्वक लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । राष्ट्रिय आदिवासी जनजाति आयोगले जातीय विभेदलाई हटाउने विषयमा देखिने गरी काम गर्नुपर्नेमा प्रदेश प्रमुखको जोड थियो । प्रदेश प्रमुख शर्माले बहुजाती बसोबास रहेको नेपालमा सबैको पहिचान र पहुँचका लागि राजनीतक सन्तुलन कायम हुनपर्ने बताउनुभयो । राजनीतिक सन्तुलन कायम हुन नसक्दा परिवर्तनका थुप्रै मुद्दाहरू ओझेलमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि आयोगलाई योजना बनाएर अघि बढ्न सुझाव दिनुभयो । आयोगका सदस्य सूर्यबहादुर गुरुङले नागरिकले संविधानले व्यवस्था गरेको अधिकारहरू सहज रूपमा पाउन नसकेको गुनासो गर्नुभयो । आदिवासी जनजातिको शिक्षा, स्वास्थ्य जस्ता विषयमा सरोकारवाला निकायको ध्यान जान नसकेको जिकिर गर्नुभयो ।














