पालुङ वितरण केन्द्रले २५ लाख वक्यौता महशुल उठायो
१८ कार्तिक, हेटौँडा । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले २५ लाख वक्यौता महशुल उठाएको छ ।
६० दिन भन्दा बढीको वक्यौता महशुल नतिर्र्ने १ सय ५० उपभोक्ताहरुको लाईन काटेर उक्त रकम असुल गरेको हो । लाइन काटिएका ग्राहकले महशुल बुझाउँदा २५ लाख वक्यौता महशुल उठेको पालुङ वितरण केन्द्रका लेखा प्रमुख सुमन शिवाकोटीले बताउनु भयो । उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत महसुल २ करोड नाघेपछि पछि पालुङ वितरण केन्द्रले लाइन काट्ने अभियान शुरु गरेको हो । पटक पटक सार्वजानिक सूचना मार्फत जानकारी गराउँदा पनि अटेर गरि महशुल नबुझाउने ग्राहकको लाईन काट्न शुरु गरिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो ।
महशुल नतिर्ने ५ वटा क्रशर तथा वालुवा उद्योग सहित १३ वटा औधोगिक, १८ वटा व्यावसायिक ४ वटा सरकारी कार्यालय सहित अन्य ग्राहस्थ उपभोक्ताहरुको लाईन काटिएको प्रमुख न्यौपानेले बताउनुभयो । पहिलो चरणमा १० हजार भन्दा बढी विद्युत महशुल वक्यौता हुने ग्राहकहरुको लाईन काटिएकोे थियो । हाल दोस्रो चरणमा ३ हजार भन्दा बढी महशुल तिर्न बाँकी ग्राहककोे लाईन काट्ने अभियान प्रमुख न्यौपानेले बताउनु भयो । पालुङ वितरण केन्द्र अन्तर्गत विजुली उपयोग गर्ने ग्राहक संख्या १५ हजार रहेको छ । पालुङ वितरण केन्द्रलाई हाल अस्तित्वमा नरहेको नेपाल रोप–वेले रु ७९ लाख बुझाउन बाँकी रहेको छ । रकम अशुलीका लागि विभागिय प्रयास शुरु गरिएको पालुङ वितरण केन्द्रले जनाएको छ ।














