ग्यास आगलागीबाट बच्न थाहानगरमा सचतेनामूलक कार्यक्रम

शम्भु अधिकारी
२१ कार्तिक २०८०, मंगलवार ११:२५

२१ कार्तिक, हेटौँडा । भान्सामा प्रयोग हुने ग्यास आगलागीबाट बच्न स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाले २० कात्तिकमा नगरको ३ वटा मुख्य बजारहरुमा सचेतनामूलक प्रदर्शनी कार्यक्रम गरेको छ ।
थाहा नगरपालिकाको सहयोगमा नगरको डाँडाबास, शिखरकोट र ओखरबजारमा भान्सामा प्रयोग हुने ग्यासबाट हुने आगलागीबाट बच्ने उपायहरुबारे अभ्यास कार्यसहित सचेतना कार्यक्रम गरिएको हो ।
स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिताबीच डाँडाबासमा विहान, शिखरकोटमा मध्यान्ह र ओखरबजारमा अपरान्ह कार्यक्रम सञ्चालन गरिएको स्थानीय स्काउट समितिका संयोजक गणेशमान श्रेष्ठले जानकारी दिनुभयो । डाँडाबासमा ७५ जना, शिखरकोटमा ९९ जना र ओखरबजारमा ९२ जना गरी कुल २६६ जना सहभागी भएको उहाँले बताउनुभयो ।


खुल्ला रुपमा गरिएको कार्यक्रममा प्रदेश स्काउट सदस्य अशोक सारु मगर र रोभर लिडर अनिल आचार्यले एलपी ग्यास किन्ने बेलामै ध्यान दिनुपर्ने कुराहरु, ग्यास जोड्दा ध्यान दिनुपर्ने कुराहरु, ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिँदै ग्यासबाट आगलागी भइहालेमा के गर्ने भनेर प्रयोगात्मक अभ्यास गराएका थिए । प्रयोगात्मक अभ्यासको क्रममा फायर एक्सटिङ्गुसर(आगो निभाउने यन्त्र)को समेत प्रयोग गरी दनदनी बलेको आगो निभाइएको थियो । अभ्यासमा स्थानीय समुदायका गृहिणीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


शिखरकोटको कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख एवम् प्रमुख स्काउट भरत गोपाली सहभागी भएका थिए । डाँडाबासमा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शिवराज थिङ, इलाका प्रहरी कार्यालयका प्रमुख श्याम थापा मगरसहित प्रहरी, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
ग्यास पड्केर आगलागी भइहालेमा के गर्ने भन्ने सामान्य जानकारी पनि नहुँदा समस्या निम्तिन सक्ने भन्दै जोखिम न्यूनीकरणमा कार्यक्रम निकै सहयोगी रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*