गौतम बुद्ध क्रिकेट रंगशालामा बागमती सरकार र भरतपुर महानगरले लगानी गर्ने

संवाददाता
२१ कार्तिक २०८०, मंगलवार १७:३५

२१ कार्तिक, हेटौँडा । निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माण हुने भएको छ ।
मंगलबार मुख्यमन्त्रीको कार्यालयमा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीचको बैठकमा रंगशाला निर्माणमा लगानी गर्ने सहमति भएको हो । भरतपुर महानगरले तयार पारेको लागत अनुमान अनुसार प्रारम्भिक चरणमा निर्माण सम्पन्न गरेर खेल मैदान सञ्चालनमा ल्याउन ७५ करोड लाग्नेछ । लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।
पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको छ । पछिल्लो समय नेपालमा क्रिकेटले लय लिइरहेको अवस्थामा राष्ट्रिय स्तरकै चासोको रुपमा रहेको गौतमबुद्ध रंगशाला निर्माणमा प्रदेश सरकारले सक्रियता देखाएको हो । छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋणसम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन रंगशालाको आर्थिक अभावको कारण देखाउँदै धुर्मुस सुन्तली फाउण्डेसनले ३५ प्रतिशत काम सकिएपछि निर्माणको काम रोकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*