एन्फाका अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत
२३ कार्तिक, हेटौँडा । अखिल नेपाल फुटबल संघ(एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।
कडा सुरक्षा घेराका बीच हेटौंडामा बिहिबार भएको विशेष साधारणसभामा अविश्वासको प्रस्तावको पक्षमा कुनै मत परेन । ५२ जनाले प्रस्तावको विपक्षमा मत दिएका थिए । कुल खसेको ५३ मत मध्ये १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । ३४ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएनन् । एन्फा इतिहासमा पहिलो पटक नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्नुभएको हो । अविश्वासको प्रस्ताव अस्विकृत भएसँगै नेम्वाङको अध्यक्षता पदले निरन्तरता पाएको छ । एन्फाका असन्तुष्ट पक्षका आवाजलाई सम्बोधन गर्दै जाने अध्यक्ष नेम्वाङले प्रतिबद्धता जनाउनुभएको छ ।

अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एकमात्र एजेण्डा रहेको विशेष साधारणसभामा प्रस्तावकलाई बोल्न नदिएपछि असन्तुष्ट पक्षले साधारण सभा बहिस्कार गरेका थिए । टिम टेलिभिजनलाई प्रतिक्रिया दिदै निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले विधि र विधान विपरित कार्य गरेको आरोप लागाउनुभयो ।

गत भदौ २५ गते एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । एन्फाको असोज १७ गते बसेको आपत्कालीन बैठकले अध्यक्षले विशेष साधारणसभाबाट अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गरेको थियो ।














