त्रिखण्डेश्वर महादेव मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला
७ मंसिर, हेटौँडा । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मकवानपुरको भीमफेदी गाउँपालिका—१, त्रिखण्डेश्वर महादेव मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला लागेको छ ।
त्रिखण्डी भनेर चिनिने यस मन्दिरमा बिहीबार बिहानैदेखि भक्तजनको ठूलो भिँड लागेको थियो । त्रिभुवन राजपथ सडक खण्डमै पर्ने यस मन्दिरमा हरेक वर्ष जस्तै यस वर्ष पनि भक्तजनको उल्लेख्य भिँड देखिन्थ्यो । हरेक वर्ष हरिबोधनी एकादशीमा दिन यस मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । त्रिखण्डी जात्रा हेर्न, मन्दिर नजिकै रहेको झरनामा फोटो भिडियो खिच्न छिमेकी जिल्ला बारा, पर्सा, रौटहट, काठमाडौं र चितवन लगायतका जिल्लाबाट पनि मानिसहरु आउने गर्दछन् ।

हरिबोधिनी एकादशीलाई वर्षभरी पर्ने एकादशीमध्यकोे सबभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशको रुपमा लिने गरिन्छ । आजको दिन भगवान् विष्णुको उपासना गरेमा फलदायी हुने धार्मिक विश्वासका साथ त्रिखण्डी मन्दिर आएको भक्तजनले बताएका छन् । त्रिखण्डी मन्दिर वरपर मेला अवधिभर माछामासु, मदिराजन्य पद्धार्थ बिक्री बितरणमा रोक लगाइएको छ । मन्दिर परिसरमा आज राती अबेर सम्म नाचगान हुने गर्दछ । आज मकवानपुरको थाहा नगरपालिकास्थित ऋषेश्वर मन्दिर र मकवानपुरगढिमा पनि विशेष मेला लागेको छ।














