मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन ठप्प
८ मंसिर, हेटौँडा । तीन महिना देखि तलब भत्ता नपाएको भन्दै बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकले पठनपाठन ठप्प पारेका छन् । प्राध्यापकहरुको आन्दोलनका कारण प्रतिष्ठानका २ सय १ विद्यार्थी पढाइबाट बञ्चित भएका छन् ।
प्राध्यापकको आन्दोलनका कारण बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन प्रभावित भएको छ । कात्र्तिक २२ गतेदेखि प्राध्यापकहरुले पेन डाउन गर्दा प्रतिष्ठानमा पठनपाठन कार्य रोकिएको हो । तलब रोकिदा दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुगेकाले पेनडाउन गर्न बाध्य भएको प्राध्यापक कण्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले बताउनुभयो ।

नियमित तलब भत्ता समयमै पाउनुपर्ने, प्रतिष्ठान तथा शिक्षकरुको स्थायित्वको लागि सेवा आयोगको गठन हुनुपर्ने लगायत विभिन्न ७ बुद्धे माग राख्दै प्राध्यापक आन्दोलनमा उत्रिएपछि विद्यार्थी भने अन्यौलमा परेका छन् । प्राध्यापकको आन्दोलन कारण स्नातक तह प्रथम सेमेस्टरको प्रि–बोर्ड परिक्षा समेत रोकिएको छ । पढाइ सुचारु हुनुपर्ने माग गर्दै विद्यार्थी प्रतिष्ठानको कार्यालय मै पुगका थिए ।
प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताको रकम भुक्तानी दिन समस्या भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा सुरेन्द्र शेरचनले स्वीकार गर्नुभयो । प्रतिष्ठानले पाउनुपर्ने करीब १० करोड रुपैयाँ नपाएका कारण प्रतिष्ठानलाई अध्ययन अध्यापनकार्य सुचारु गर्न कठिनाइ परेको उहाँको भनाई छ ।

यस विषयमा मुख्यमन्त्रीदेखि स्वास्थ्य र अर्थ मन्त्रालयसँग नियमित सम्पर्क तथा छलफल भैरहेको प्रतिष्ठानका रजिष्टार राजेश प्रशाईँले बताउनुभयो ।
प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्याब विषयमा अध्यापन गराइरहेको छ ।














