जग्गाको स्वामित्व हस्तान्तरण गरिदिन घट्टेखोलाका चेपाङ समुदायको माग
११ मंसिर, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर–३ घट्टेखोलाका चेपाङहरुले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व हस्तान्तरण गरिदिन बागमती प्रदेश सरकार समक्ष आग्रह गरेका छन् ।
घट्टेखोला खाद्य अधिकार प्रभावित समूहका संयोजक रामचन्द्र प्रजाको नेतृत्वको टोलीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर भोगचलन गर्दै आएको ५४ कठ्ठा जग्गाको स्वामित्व हस्तान्तरण गरिदिन माग गरेका हुन् । २५ वर्ष पछि हस्तान्तराण गर्ने गरी तत्कालिन जिल्ला विकास समिति मकवानपुर र प्रजा विकास कार्यक्रमको पहलमा २०४७ सालमा पहिरोले विस्थापित भएका नौ घरधुरीलाई प्रति परिवार ६ कठ्ठाका दरले जग्गा उपलब्ध गराइएको थियो । विगत ३४ वर्षदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व हस्तान्तरण गरिदिन उनीहरुले मुख्यमन्त्री समक्ष माग गरेका हुन । हाल परिवार संख्या बढेर २९ पुगेको संयोजक प्रजाले बताउनुभयो । यस विषयमा मानव अधिकार आयोग, सुकुम्बासी आयोग, जिल्ला समन्वय समिति समक्ष पटक पटक कुरा राख्दा समेत सुनुवाइ नभएको संयोजक प्रजाले गुनासो गर्नुभयो ।

प्रभावित समूहको मागको विषयमा मुख्यमन्त्री जम्कट्टेलले जिल्ला समन्वय समितिका प्रमुख ललित घलानलाई फोन सम्पर्क गरी जग्गा हस्तान्तरण गर्न निर्देशन दिनुभयो । आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री जम्कट्टेलले यस विषयमा गम्भिर भएर लाग्न प्रमुख घलानलाई आग्रह गर्नुभयो ।

चेपाङहरुलाई उपलब्ध गराइएको उक्त जग्गा तत्कालिन जिल्ला विकास समिति मकवानपुरको नाममा रहेको छ । फियान नेपाल बागमती प्रदेश संयोजक राजेन्द्र पोखरेलको सहजीकरणमा प्रभावित समूह र मुख्यमन्त्रीबीच भेटवार्ता भएको हो ।














