लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैनः कार्यवाहक प्रधानमन्त्री खड्का
१५ मंसिर, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प नभएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान शासन प्रणाली तुलनात्मक रुपमा अन्य प्रणाली भन्दा उन्नत रहेको बताउनुभएको हो । वर्तमान शासन प्रणालीलाई अघि बढाउँदा जिम्मेवारीमा बसेकाहरुले काम, निर्णय, कार्यशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्ने उहाँको भनाई थियो । कार्यवाहक प्रधानमन्त्री खड्काले गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रश्तुत गर्ने कुरालाई सबैले सामुहिक रुपमा जवाफ दिन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले शासकीय सुधार, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरुलाई छिटो छरितो तरिकाले तिब्र गतिमा अघि बढाउन आवश्यक रहेको समेत बताउनुभयो ।
उपप्रधान एवं रक्षामन्त्री समेत रहनुभएका खड्काले मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको बताउनुभयो । उहाँले बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको उल्लेख गर्नुभयो ।














