हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल
१६ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसको बचाऔं अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताउनुभएको हो । शनिवार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा उच्चस्तरीय राउण्डटेबल बैठकको अध्यक्षता गर्दै उहाँले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभयो । प्रधानमन्त्री दाहालले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भयो । प्रधानमन्त्री दाहालले विश्वका नेताहरुले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको बताउनुभयो । उहाँले जलवायु मुद्दामा नेपाल अन्यायमा परेको उल्लेख गर्नुभयो । नेपाल पेरिस सम्झौताको पालना हुनुपर्छ भन्ने पक्षमा रहेको र सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्नेमा प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो । त्यसका लागि ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने र नेपालको जलसम्पदाको उपयोग बढाउने प्रधानमन्त्री दाहालको भनाई छ ।
प्रधानमन्त्री दाहालले हिमालय र जलवायु परिवर्तनका विषयमा संवादको आवश्यकता रहेको पनि बताउनुभयो ।














