प्रधानमन्त्री प्रचण्ड शनिबार हेटौंडा आउने
२८ मंसिर, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शनिबार हेटौंडा आउनुहुने भएको छ ।
मानवसेवा आश्रम केन्द्रिय कार्यालय परिसरमा नवनिर्मित भवनको समुदघाटनका निम्ति हेटौंडा आउन लाग्नुभएको हो । बिहिबार मानवसेवा आश्रम मुख्य कार्यालय हेटौंडाले अघिल्लो आर्थिक बर्षको प्रगति प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम आयोजना गर्दै यस्तो जानकारी दिएको हो । मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले प्रधानमन्त्रीसँगै गृहमन्त्री, अर्थमन्त्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लगायत बागमती प्रदेश सरकारलाई पनि निमन्त्रण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा सँस्थाका उपाध्यक्ष उमा भण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सँस्थाले स्थापना कालदेखि हालसम्म १ हजार ५ सय ८१ जनाको उद्धार गरिएको र आर्थिक बर्ष २०७९–०८० मा ५५ जनाको उद्धार गरिएको भण्डारीले जानकारी दिनुभयो ।

यस्तै सँस्थाका बित्त बिभाग प्रमुख अस्मिन गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सँस्थाले २ करोड ४७ लाख ५६ हजार १ सय ५० रुपैया विभिन्न संघसँस्था तथा व्यक्तिहरुबाट आम्दानी भएको तथा ३ करोड ७१ लाख ९१ हजार ७ सय ९७ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । यस्तै सँस्थाका अभिभावक तारा प्रसाद लामिछानेले मुख्य कार्यालयको निर्मित भवनको भौतिक संरचनाको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले भौतिक संरचना निर्माणका लागि कुल रकम १३ करोड ९५ लाख ६१ हजार १ सय १६ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सिताराम रिजाल, सामाजिक बिकास मन्त्रालय बागमती प्रदेशका सामाजिक बिकास महाशाखाका प्रमुख अमृत अधिकारी, वडा नं ९ का वडा सदस्य बिष्णु राना मगर, लगायत मानव सेवाका अभियन्ताहरुको सहभागिता थियो ।














