वर्तमान निर्वाचन प्रणालीको कारण गठबन्धन जरुरीः अर्थमन्त्री महत
३ पुस, हेटौँडा । अर्थमन्त्री डा.प्रकाशशरण महतले गठबन्धन बाध्यताको उपज भएको बताउनुभएको छ ।
वर्तमान निर्वाचन प्रणालीको कारण कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत आउन नसक्ने भएकोले निर्वाचन अघि नै गठबन्धन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले सहमति र सहकार्य नगरे सरकार नै बन्न नसक्ने जिकिर गर्नुभयो । चुनाव अघि गठबन्धन गर्नुहुँदैन भन्ने कांग्रेस कार्यकर्ताको कुरा जायज भएको उहाँको भनाई थियो । अर्थमन्त्री महतले पार्टीको सांगठनिक संरचना बलियो बनाए आगामी चुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने जिकिर गर्नुभयो । भित्र सहमति गर्ने तर बाहिर आएर असन्तुष्टि पोख्ने परिपार्टीले जनतालाई दिग्भ्रमित गर्ने उहाँको भनाई थियो ।

अर्थमन्त्री महतले अर्थतन्त्रका सुचकहरु सकारात्मक दिशामा रहेको दाबी समेत गर्नुभयो । ओली नेतृत्वको सरकारले बनाएको ठेक्कामुखी अर्थतन्त्रलाई वर्तमान सरकारले सुधार्ने उहाँको भनाई थियो । अर्थमन्त्री महतले अब निर्धक्कसंग आर्थिक गतिबिधी गर्नका लागि आग्रह गर्नुभयो । अर्थतन्त्रको समस्यालाई देखाएर लोकतन्त्रमाथि नै प्रश्न उठाउनेहरुलाई नेता, कार्यकर्ताहरुले अब जवाफ दिनुपर्ने बेला आएको उहाँको भनाई छ । अर्थमन्त्री महतले प्रतिफल सुनिश्चित हुने क्षेत्रको लागि मात्र वैदेशिक ऋण स्वीकार्ने बताउनुभयो ।

सम्मेलनमा दुई संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश, १० वटा पालिका, १०२ वटा वडाबाट गरी २ हजार प्रतिनिधि उपस्थिती रहेको थियो ।














