मुद्दा विचाराधिन रहेकोले शिवमको लाइन काट्न सकिएनः प्राधिकरण
९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१६ मा रहेको शिवम् सिमेन्ट उद्योगले नेपाल बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रलाई पौने ३ अर्ब रुपैयाँ विजुलीको महसुल बुझाउन बाँकी रहेको छ ।
शिवम् सिमेन्टले प्राधिकरणलाई दुई अर्ब ७३ करोड ७६ लाख रुपैयाँ महसुल तिर्न बाँकी रहेको बिद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रशासन प्रमुख रामबाबु लोप्चन जानकारी दिनुभयो । यो रकम २०७२ सालदेखि २०७५ सालसम्मको डेडिकेटेड फिडर उपयोग गरेको बापतको जरिवाना सहितको महसुल भएको प्राधिकरणले जनाएको छ । उद्योगले नियमित रुपमा मासिक महसुल भने बुझाएको प्रमुख लोप्चानले बताउनुभयो ।

आफूले डेडिकेटेड फिडर प्रयोग नगरेको उद्योगले दाबी गर्दै उद्योग सर्वोच्च अदालत सम्म पुगेको थियो । सर्वोच्चबाट उद्योगको विपक्षमा फैसला आएपनि उद्योगले डेडिकेटेड फिडरको बक्यौदा रकम तिरेको छैन । महसुल भुक्तानी गर्न आग्रह गर्दै प्राधिकरणले बारम्बार उद्योगलाई पत्र पठाएको छ । अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको कारणले उद्योगको लाइन काट्न नसकिएको प्रशासन प्रमुख लोप्चनले बताउनुभयो ।
मुद्धाको निर्णय हुनासाथ विद्युत् विनियमावली अनुसार उद्योग विरुद्ध कदम चालिने प्राधिकरणले जनाएको छ ।














