आफ्नो हुटहुटी अनुरुप परिणाम आउन सकेन तर असफल पनि भएनः प्रधानमन्त्री दाहाल

संवाददाता
१० पुष २०८०, मंगलवार १९:२४

१० पुस, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताउनुभएको छ ।
मंगलवार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरुप हुन नसकेको स्वीकार गर्नुभएको हो । उहाँले सरकार असफल भने नभएको बताउनुभयो । उहाँले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताउनु भयो । उहाँले बाहिर नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको बताउनुभयो । उहाँले देशमा सबै नराम्रो मात्र भइरहेको वातावरण बनाउने प्रयास भइरहेको टिप्पणी गर्नुभयो । भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको भन्दै उहाँले यो ऐतिहासिक भएको दाबी गर्नुभयो ।


यसैगरी प्रधानमन्त्री दाहालले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने बताउनुभएको छ । उहाँले संसारको कुनैपनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले शिक्षामा गुणस्तरीय र प्रतिष्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न सरकारले बहुआयामिक कदम चाल्ने बताउनु भयो । यस्तै प्रधानमन्त्री दाहालले स्वास्थ्य बिमाको दायरा पनि विस्तार गर्ने घोषणा गर्नुभएको छ । उहाँले अब स्वास्थ्यमा पहुँच बढाउने काम उच्च प्राथमिकता रहने गर्नुभयो ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सुशासन कायम गरी लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण निरन्तर जारी राख्ने बताउनुभयो । देशमा भिआइपी कल्चर स्थापित भइरहँदा हाइप्रोफाइल व्यक्तिहरूलाई कानुनको दायरामा ल्याएको प्रधानमन्त्री दाहालले दाबी गर्नुभयो । उच्च पदस्थका व्यक्तिहरू नै नियन्त्रणमा आएपछि देश विधिको शासनले चलेको भन्ने मान्यता स्थापित भएको प्रधानमन्त्री दाहालको भनाई थियो । प्रधानमन्त्री दाहालले एनसेलको ८० प्रतिशत शेयर बिक्रीको जानकारी पाएलगत्तै संवेदनशील भएर छानबिन अगाडि बढाएको बताउनुभयो ।  यसबारे सरकार संवेदनशील भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसीरहन जरुरी नभएको स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*