संसदमा बसेर सुशासनको पक्षमा बहस गर्न जरुरीः मुख्यमन्त्री कार्की
१३ पुस, हेटौँडा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रोडमा कुदेर देशमा सुशासन नाआउने बताउनुभएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई इंगित गर्दै मुख्यमन्त्री कार्कीले रोडमा कुदेर फोटो खिचाउनु भन्दा संसद्मा बसेर सुशासनको पक्षमा बहस गर्नुपर्ने बताउनुभयो । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमा गर्दै मुख्यमन्त्री कार्कीले सुशासनको प्रत्याभुति दिलाउन कर्मचारीले ठाउँठाउँमा पुगेर जनतालाई सेवा दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री र मन्त्रीहरुको रिपोर्ट कार्ड माग्ने संघीय संसद्ले आफ्नो रिपोर्ट कार्ड पनि प्रस्तुत गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले संघीयता कार्यान्वयनको सवालमा संघीय सरकार र संसद दुबै निदाएर बसेको आरोप समेत लगाउनुभयो । मुख्यमन्त्री कार्कीले पपुलर हुनको लागि संसद्ले संकल्प प्रस्तावहरु लिएर जाने तर जनतासंग प्रत्यक्ष सरोकार राख्ने ऐनहरुको सवालमा भने सुतिराखेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले एकात्मक सोच भएकाहरुलाई हेटौंडाको भेलाले झकझकाउने पनि बताउनुभयो ।

यस्तै मुख्यमन्त्री कार्कीले कोशीमा मध्यावधिको सम्भावना टरेको दाबी गर्नुभयो । एमाले सहितको समर्थनमा बजेटको प्रतिस्थापन विधेयक प्रदेशसभाबाट पारित भएकोले मध्यावधिको कुनै सम्भावना नरहेको उहाँले स्पष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउने कोसिस जारी रहेकोले मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको स्वीकार समेत गर्नुभयो । प्रदेशको गरिमा बचाउन पनि कोशीमा सर्वदलीय सरकार आवश्यक रहेको उहाँको भनाई थियो ।
पत्रकार सम्मेलनमा उहाँले मन्त्रीपरिषद्ले पूर्णता नपाउँदा पनि बजेट कार्यान्वयनमा कुनै समस्या नरहेको बताउनुभयो ।














