रिपोटर्स क्लब नेपाल मकवानपुरको अध्यक्षमा पुडासैनी
१३ पुस, हेटौँडा । रिपोटर्स क्लब नेपाल मकवानपुर शाखाको अध्यक्षमा बलराम पुडासैनी सर्वसम्मत चयन हुनुभएको छ ।
क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको उपस्थितिमा शुक्रबार हेटौंडामा भएको सर्वपक्षीय भेलाले पुडासैनीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा भावना रिजाल, कोषाध्यक्षमा सरोज पौडेल र सहसचिवमा मनिल महतो चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मन्जु मैनाली, स्मिता अर्याल, अशोक बजगाईँ र बाशुदेव विष्ट रहेका छन् । भेलालाई सम्बोधन गर्नुहुँदै केन्द्रीय अध्यक्ष धमलाले ठुला ठुला राजनीतिक परिवर्तनहरुमा मिडियाको अहम् भुमिका रहेको बताउनुभयो । उहाँले मिडियालाई एकता, सहकार्यको माध्यमबाट व्यवसायिक करण गर्नुपर्नेमा जोड दिनुभयो । व्यक्तिगत स्वार्थमा पत्रकारितालाई लान नहुने अध्यक्ष धमलाको भनाई थियो ।

अध्यक्ष धमलाले क्लबका सिंगो कार्यसमितिलाई बधाई दिँदै निश्पक्ष पत्रकारितामार्फत् समाज रुपान्तरणका लागि अहोरात्र लागि पर्न पनि आग्रह गर्नुभयो । त्यस्तै भेलाबाट क्लबले प्रदान गर्दै आएको पुरस्कारलाई समेत निरन्तरता दिइने सर्वसम्मत निर्णय भएको छ । भेलामा प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष हरि हुमागाईँलगायत मकवानपुरका क्रियाशील सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । भेलाले क्लब मकवानपुरका पूर्व अध्यक्ष सविन न्यौपाने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ को वडाध्यक्ष निर्वाचित भई हाल उपमहानगरपालिकाको प्रवक्ताको जिम्मेवारीमा रहेकोले उनलाई बधाई ज्ञापन गर्दै संस्थालाई पुर्याएको योगदानको उच्च सम्मानसहित धन्यवाद प्रस्ताव समेत पारित गरेको छ ।














