बागमती प्रदेश भ्रमण वर्ष, २०२४ को शुभारम्भ
१६ पुस, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश भ्रमण वर्ष, २०२४ को शुभारम्भ गरेको छ ।
संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुकार महर्जनले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुभएको हो । पत्रकार सम्मेलनमा मन्त्री महर्जनले बजेट सक्नको लागि भ्रमण वर्षको आयोजना नगरिएको स्पष्ट पार्नुभयो । प्रदेशको पर्यटन व्यवसायलाई थप सुदृढ पार्न भ्रमण वर्षको शुभारम्भ गरेको उहाँले स्पष्ट पार्नुभयो । पर्यटनका लागि बजेट कम रहेपनि माग भइरहेको उहाँले बताउनुभयो । मन्त्री महर्जनले नाइट टुरिजमलाई थप व्यवस्थित गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्यटन व्यवसाय फस्टाउनको लागि रात्रीकालिन व्यवसाय गर्नु अहिले जरुरी भएको उहाँको भनाई थियो ।
मन्त्रालयका सचिब गोविन्द रिजालले पर्यटन प्रबद्र्धनका लागि बिभीन्न कार्यक्रमहरु गरिने र यसको प्रचार प्रसारमा व्यापकता दिइने बताउनुभयो । उहाँले भ्रमण वर्षमा विविध कार्यक्रम गर्नका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेकोमा त्यसलाई विविध कार्यक्रममा विभाजन गरी खर्च गरिने जानकारी दिनुभयो ।
यस्ता कार्यक्रमबाट आन्तरिक र वाह्य पर्यटकलाई प्रोत्साहन गर्दै यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।














