नेपाल र भारतबीच उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर
१९ पुस, काठमाडौँ । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ ।
काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले दुई देशका उर्जा सचिवहरुका बीचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताउनु भयो । त्यस्तै नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी र न्यु स्पेस इण्डिया लिमिटेडबीच नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ । त्यसैगरी काठमाडौंस्थित भारतीय दुतावासले अब एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्नसक्ने पनि सहमती भएको उहाँले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले १३२ केबी पावर क्षमताका तीनवटा प्रशारण लाइनको उद्घाटन भएको बताउनुभयो । उहाँले भैरहवा, रक्सौल–परवानीपुरको सेकेण्ड सर्किट र कुसाहा–कटैता सेकेण्ड सर्किट लाइन उद्घाटन भएको उल्लेख गर्दै यसले नेपाल–भारतका बीचमा उर्जा आदानप्रदानमा ठुलो सहयोग पुग्ने बताउनु भयो ।
यस्तै भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।














