एष्ट्रोनोभाको विदेश प्रतिनिधिमा नाइजेरियाका आयोला नियुक्त
२५ पुस, हेटौँडा । हेटौंडामा रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीलगायत विज्ञान प्रविधिसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको एष्ट्रोनोभा फाउण्डेशन नेपालको विदेश प्रतिनिधिको रुपमा बाबाटुन्डे आयोला नियुक्त भएका छन् ।
बुधबार रिपोटर्स क्लब नेपाल मकवानपुरको संयोजनमा हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले नाइजेरियाका नागरिक आयोलालाई नियुक्ती पत्र प्रदान गरेका हुन् ।
बाल मनोविज्ञसमेत रहेका आयोलाले फाउण्डेशनका गतिविधि अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने एवम् अन्तर्राष्ट्रियस्तरका बैज्ञानिकसँग समन्वय तथा सम्बन्ध विस्तार गरी नेपालीहरुको हितका लागि विभिन्न कार्यक्रमहरु ल्याउन पहल गर्ने बताउनुभयो । सो अवसरमा अध्यक्ष बास्तोलाले फाउण्डेशनलाई अनुसन्धान एवम् आविस्कार केन्द्रको रुपमा विकास गरिने बताउनुभयो । हाल विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला स्थापना भइसकेको बताउँदै उहाँले विज्ञान प्रविधिको क्षेत्रमा बालबालिकाहरुलाई अब्बल बनाउने उद्देश्यका साथ हालसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १ लाख विद्यार्थीसमक्ष पुगेको दाबी गर्नुभयो ।

फाउण्डेशनले २५ जना विद्यार्थीलाई राष्ट्रिय युवा विज्ञान सम्मेलनमा सहभागी गराएको, ६ जनाले युवा बैज्ञानिक अवार्ड पाइसकेको, ३५ जना विद्यार्थीहरुलाई निरन्तर निशुल्क रुपमा मेकानिकल, सिभिल, आइटी, सफ्टवेयर, कम्प्यूटर लगायतका इन्जिनियरहरुद्वारा प्रशिक्षण दिने कार्य भइरहेको तथा वेवसाइट तथा डिजिटल प्रोजेक्टको तयारी भइरहेको उहाँले बताउनुभयो ।
पुष १७ गतेबाट नेपाल भारत बहुप्राविधिक विद्यालयमा मेकानिकल इन्जिनियरिङ पढ्ने १५ जना विद्यार्थीलाई सोलिड वर्क थ्रीडी डिजाइनिङ वर्कसप सञ्चालन गरिएको, पुष ३० बाट ३ महिनासम्म हेटौंडामा सिभिल इन्जिनियरिङ विषय अध्ययन गरिरहेका १५ जना विद्यार्थीलाई अटोकाड तालिम र मेकानिकल इन्जिनियरिङ पढ्ने १५ जनालाई सोलिडवर्क तालिम सञ्चालन गरिने अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । उहाँले विभिन्न तहका सरकारसँग सहयोगका लागि प्रस्ताव गरेको भन्दै सहयोग प्राप्त भएमा बालबालिकाको क्षमता विकास गरी उद्यमशीलतासँग जोड्न सकिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा रिपोटर्स क्लब मकवानपुरका अध्यक्ष बलराम पुडासैनी, नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष केशव समपर्ण सुवेदीलगायत मकवानपुरका क्रियाशील सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।














