छैठौं माघी महोत्सव माघ १ गते हुने
२८ पुस, हेटौँडा । थारु जातीको संस्कृती संरक्षण गर्ने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौँडामा “छैटौं थारु माघी महोत्सव” हुने भएको छ ।
शनिबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १ गते हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालको चौरमा हुन लागेको महोत्सवको बारेमा जानकारी गराएको छ । माघी महोत्सव मुल आयोजक समिति मकवानपुरको आयोजनामा तथा हेटौँडा उपमहानगरपालिको मुख्य सहयोगमा महोत्सव हुन लागेको हो । महोत्सवमा थारु जातीको सांस्कृतिक, लोक कला, भाषा दर्शन, साहित्य, रितिरिवाज र थारु खाना विभिन्न परिकारहरुको स्टल समेत रहने छैठौं थारु माघी महोत्सव मूल आयोजक समारोह समितिका संयोजक सचिदानन्द चौधरीले जानकारी दिनुभयो । आदिवासी थारु समुदायको पहिचानलाई अगाडी बढाउने तथा ग्रामीण अर्थतन्त्रमा थप टेवा पुर्याउने मुख्य लक्ष्यले २०७५ सालदेखि मकवानपुरमा माघी मेला आयोजना हुँदै आएको छ । महोत्सवको हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव सञ्चालनका लागि करिब ७ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजक समितिको अनुमान छ । २०७८ सालको जनगणना अनुसार मकवानपुरमा थारुहरुको संख्या १ हजार ९ सय २४ रहेको छ ।














