मुस्लिम समुदायहरुको अधिकारमा कटौती भएको छः अध्यक्ष फारुकी

संवाददाता
२८ पुष २०८०, शनिबार २१:०३

२८ पुस, हेटौँडा । प्रतिनिधिसभा सदस्य सिराज फारुकीले मुस्लिम समुदायहरुको अधिकारमा कटौती भएको बताउनुभएको छ ।
संविधान जारी भएको ८ वर्ष वितिसक्दा समेत मुस्लिम अधिकारको पक्षमा ऐन, कानुन निर्माण हुन नसक्नु दुःखद विषय भएको उहाँले बताउनुभयो । नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम बागमती प्रदेश अधिवेशनमा सम्बोधन गर्नुहुँदै सांसद् फारुकीले आफुहरुले सदन मार्फत मुस्लिम समूदायको अधिकार स्थापनाको लागि आवाज बुलन्द गरेको बताउनुभयो । नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष समेत रहनुभएका उहाँले मुस्लिम समूदायले देशहितलाई पहिलो प्राथमिकतामा राख्ने गरेको बताउनुभयो । सांसद् फारुकीले मुस्लिम समुदायमा एकता र चेतनाको कमी हुँदा हरेक क्षेत्रमा पछाडि पर्ने गरेको उल्लेख गर्नुभयो ।


यसैगरी अधिवेशनमा सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मुस्लिम समुदायको संगठन जति बलियो हुन्छ त्यति पार्टी र राष्ट्र पनि बलियो हुने बताउनुभयो । उहाँले राजतन्त्र ल्याउनुपर्छ भन्ने गलत भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । एमाले बाहेक अन्य राजनीतिक दलहरु विदेशीको दास भइसकेको कुरा वर्तमान सरकारको गतिवधिबाटै पुष्टि भइसकेको पूर्व मुख्यमन्त्री पौडेलले बताउनुभयो ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना, जुनेली श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । अधिवेशनले महम्मद् समिमको नेतृत्वमा ११ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षद्वयमा निसारुद्धिन मिया र मजित सिद्धिकी, सचिवमा रहिमुद्धिन मिया र सहसचिवमा जुबेर मिया चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*