उपत्यकावासीलाई वर्षभर मेलम्चीको पानी उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

संवाददाता
१ माघ २०८०, सोमबार १२:०९

१ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकावासीलाई मेलम्चीको खानेपानी वर्षभर नै उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मेलम्ची आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि १२ महिना नै सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन सम्बन्धित निर्देशन दिनुभयो । उहाँले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । उहाँले मेलम्चीको पानी पथान्तरण कार्यलाई दिगो बनाउने कार्य छिटै सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्य समेत निश्चित कार्ययोजना बनाइ अघि बढाइने प्रतिवद्धता जनाउनु भयो । प्रधानमन्त्री दाहालले सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणाली समेत विकास गरिने बताउनु भयो । उहाँँले केही वर्ष भित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिणामको खानेपानी सेवा चौबिसै घण्टा उपभोक्ता सदस्यहरुको धारामा उपलब्ध गराउने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री दाहालले मेलम्चीको पानी उपत्यकामा दिगो रुपमा सञ्चालन गर्ने विषय सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*